विदेश जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । 

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । 

अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क  हुनेछ । पीसीआर परीक्षण निःशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेस गर्नुपर्नेछ । 

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो । –रासस


ताजा खबर