भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू आज वितरण गरिएको छ । 

भैरव पुरस्कार गुठीले काठमाडौँको जोरपाटीमा आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गर्नुभयो ।

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

त्यस्तै, पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको छ  । 

१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । 

त्यस्तै, ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको छ । 

 सो कार्यक्रममा पूर्व प्रदेश मन्त्री तथा प्रदेश सांसद रामेश्वर फुयाँल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सोही अवसरमा ‘सम्झना भैरव स्मृति ग्रन्थ’ को विमोचन समेत गरिएको थियो । 

विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यिक पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताउनुभयो । 

कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले गुठीका गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने गुठीका सदस्यहरू प्रा डा दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझी लगायतका वक्ताहरूले अर्यालको साहित्यिक योगदान बारे चर्चा गर्नुभएको थियो । 

यसैबीच,  गुठीको आजै सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 

गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजित नेपाल चयन हुनुभएको छ । 

त्यसैगरी, सदस्यहरूमा बद्री अर्याल, रश्मि शर्मा, गोपाल बराल, प्रा.डा.दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाईँ र निर्मल अर्याल चयन हुनुभएको छ ।


ताजा खबर