रूसी राष्ट्रपतिको आदेशमा युक्रेनमाथि रूसको सैन्य आक्रमण

रूसले युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको छ। बुधबार बिहानैदेखि युक्रेनको राजधानी किइभमा विस्फोट हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही गर्न आदेश दिएसँगै रूसी सेनाले आक्रमण शुरू गरेको सीएनएनले जनाएको छ।

युक्रेनको राष्ट्रपतिको कार्यालयले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई उपलब्ध गराएको फोटोमा बम विस्फोटपछि ज्वाला निस्किएको देखिएको छ। युक्रेनको राजधानी किइभमा आक्रमण भएको छ। स्थानीय समय अनुसार, बुधबार बिहान ७ बजेदेखि विस्फोटका आवाज आउन थालेका छन्।

रूसी अधिकारीहरूले युक्रेनबाट आफ्नो देशलाई खतरा रहेको जनाउँदै नि:शस्त्रीकरण गर्ने ‘सैन्य अभियान’ शुरू गरेको जनाएका छन्। रूसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको पृथक्‌तावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष ‘सैन्य अभियान’ घोषणा गरेका हुन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रूसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि रूसी राष्ट्रपति पुटिनले आक्रमणको घोषणा गरेका हुन्।

युक्रेनका राष्ट्रपतिले जेलेन्स्कीले रूसी भाषामा पठाएको भावनात्मक अपीलमा ‘तपाईंलाई भनिएको छ कि युक्रेन रूसका लागि खतरा हुन सक्छ, तर  यो विगतमा पनि यस्तो थिएन, अहिले पनि त्यस्तो छैन र भविष्यमा पनि हुनेछैन। तपाईं नाटोसँग सुरक्षाको ग्यारेन्टी माग्नुहुन्छ। हामी हाम्रो सुरक्षाको ग्यारेन्टी पनि माग्छौं।’

यसैबीच युक्रेनको विद्यमान अवस्थाबारे राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्‌कालीन बैठक चलिरहेको छ। युक्रेनबाट अलग भएका क्षेत्र डोनेस्क र लुहान्स्कका प्रमुखहरूले रूसी राष्ट्रपतिलाई सहयोगका लागि आग्रह गरेपछि युक्रेनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठकका लागि अनुरोध गरेको छ। –रोयटर्स


ताजा खबर