‘रुससँग द्वन्द्व हुने कुरामा विश्वास छैन’: युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताउनुभएको छ । उहाँले मंगलबार भन्नुभएको छ– मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।

उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उहाँले जनाउनुभएको छ । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उहाँले बताउनुभएको हो ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् । –सिन्ह्वा/रासस


ताजा खबर