चैत्र मसान्तसम्म १८ वर्ष माथिका सबैलाई पुरा मात्रा खोप लगाइने

देशभर २ सय ६२ जनामा कोरोना पुष्टि / लक्षित जनसङ्ख्याको ७८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले खोप अभियान सुरु भए यता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।

हालसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले यही चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको समेत प्रवक्ता डा. मिश्राले जानकारी गराउनुभयो ।

यस्तै आज देशभर २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ८ सय १५ नमूनाको परिक्षण गर्दा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कूल नमूना परीक्षणको आधारमा आज ३ दशमलव ५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित १ हजार ३ सय ३८ जना निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको छ ।

आज ३३ हजार २ सय ५४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।


ताजा खबर