टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको दोस्रो जित  

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । 

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको भारीअन्तरले पराजित गरेको हो । 

सोही मैदानमा हिजो भएको ओमान विरुद्धको पहिलो खेलमा नेपाल ३९ रनले विजयी भएको थियो । जितसँगै नेपाल चार अङ्क जोड्दै सेमिफाइनल नजिक पुगेको छ । 

आजको खेलमा २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । 

फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ तथा कपिल कुमारले ४ रन जोडे । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक–एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्यो । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रनको योगदान दिए । उनले ६१ बल खेल्दा १३ चौका र एक छक्काको मद्दतमा १०४ रन जोडेका हुन । कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो ।

यसअघि उनले ७७ रन बनाएका थिए । त्यसैगरी कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन तथा पारस खड्काले ५२ बलमा १०६ रन बनाएका थिए । 

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । लोकेश बम ६ रनमा अविजित रहँदा कुशल मल्ल १२ रनमा आउट भए । आशिफ शेख शून्य रनमै आउट भएका थिए । 

फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए । नेपालले अब समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ ।  –रासस


ताजा खबर