स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार : विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने

काठमाडौं, कात्तिक २६ गते

स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

स्थानीय तहका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत गरी ४८ पदका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम बुधबार रहेको जानकारी निर्वाचन आयोगले दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा अध्यक्ष पदका लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख पदका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि चाहिने जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभयो ।

स्थानीय तहको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुखका लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदका लागि एक हजार रुपियाँ धरौटी राख्नुपर्ने छ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा पेश गर्नुपर्ने छ । २०७४ सालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्न पाउने छैनन्।

रासस


ताजा खबर