भारतमा अहमदावाद विस्फोटका दोषी ३८ जनालाई मृत्यु दण्ड 

भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ ।  

गुजरातको विशेष अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रवार मृत्युदण्डको फैसला सुनाएको हो । 

घटनामा दोषी दाबी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार शृङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ ।

घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै छ ।
अहमदाबाद बम काण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ ।

उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोटन गराएका थिए । 

सो शृङ्खलाबद्ध विस्फोटनको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने अरू २०० भन्दा बढी घाइते भएका थिए । त्यतिबेला विस्फोट नभएका थुप्रै बमहरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो ।

घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो । 
पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जाने गरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । –रासस/एएनआई


ताजा खबर