‘स्थानीय निर्वाचन लगत्तै प्रदेश र संघको चुनाव गछौं’

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव लगत्तै प्रदेश र संघको निर्वाचन गरिने बताएका छन्।

७२औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय चुनाव लगत्तै प्रदेश र संघको चुनाव गरिने बताएका हुन्। प्रधानमन्त्री देउवाले भने, “हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गईरहेका छौं। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ।”

सबै चुनाव सम्पन्न गरेर जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था संचालन गर्न पद्धति सुदृढ गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले भने, “सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिवद्ध हुन आवश्यक छ।”

उनले २००७ सालमा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति भएको उल्लेख गरे। त्यसैको जगमा विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको उनको भनाइ थियो।

एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उनको भनाइ थियो।

“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ,” प्रधानमन्त्री देउवाले भने, “आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो।” –रासस



ताजा खबर