अन्नपुर्ण हाम्रो गोल्डकपको उपाधि आर्मीले जित्यो : चर्च ब्वाईज क्लव काठमाण्डौ २-० गोलअन्तर सहित भयो उपविजेता

त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुडाथोकी चम्केपछि झापाको बिर्तामोडमा जारी प्रथम अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ ।

उपाधिको लागि भएको होडमा चर्च ब्वाईज क्लव काठमाण्डौलाई २—० गोल अन्तरले हराउदै आर्मी बिजयी बनेको हो । उपाधि सगै आर्मीले १२ लाख ५० हजार रुपियाँ प्राप्त गर्यो । उपविजेता चर्च ब्वाईजले ६ लाख २५ हजार रुपियाँसहित रनर अपमा चित्त बुझायो ।

आर्मीका लागि दुबै गोल टेकबहादुर बुडाथोकीले गर्नुभयो । बुढाथोकीले खेलको पहिलो र दोस्रो हाफमा एक एक गोल गर्नुभयो । खेलको ३१ औ मिनेटमा बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । टंक बस्नेतको पासमा सटिक प्रहार गर्दै बुढाथोकीले टिमलाई जिततर्फ डोरयाउनुभयो ।


पहिलो हाफमा १—० गोलले पछि परेको चर्च ब्वाईज गोल फर्काउन खोज्ने क्रममा थप एक गोल खान पुगेको थियो । खेलको अन्तिम समय ८० औ मिनेटमा वुडाथोकीले दोस्रो गोल गर्नुभयो । खेलको अन्तिम समयमा बराबरी गोलको खोजिमा रहेको चर्च ब्वाईजमाथि आर्मीका विवेक बस्नेतको पासमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल थप्दै अग्रतालाई २–० बनाउनुभयो ।
खेल अवधिभर दुबै टिमबाट भएका केहि प्रयासहरु खेर गएको थियो । बिजयी तथा उपबिजयी दुबै टिमलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईले नगद तथा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आर्मीका टेकबहादुर बुडाथोकी हुनुभयो । उहाँले टिभिएस कम्पनीको मोटरसाईकल प्राप्त गर्नुभयो ।

यसैगरि खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अशोक खबास हुनुभयो । उहाँले नगद १० हजार रुपैया पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत , उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने , डिफेन्स आर्मीकै दिपक गुरुङ्ग, मिड फिल्डर चर्च ब्वाईजका सुनिल खड्का , उत्कृष्ट गोलकिपर आर्मीका दिवश चौधरी हुनुभयो । उहाँहरु सबैले १५ हजार रुपियाँबाट पुरस्कृत हुनुभयो ।

रासस


ताजा खबर