एमसीसीबारे हिंसा भड्काउने विचार अस्वीकार्य

अमेरिकाले एमसीसी अनुमोदन गर्ने की नगर्ने विषयलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । शुक्रबार काठमाण्डुस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत अमेरिकाले एमसीसी पारित गर्ने विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने विचार स्वकार्य नहुने बताएको हो ।

सरकारले एमसीसी संसदबाट पास गर्ने तयारी गरेको भन्दै देशभर विरोध भइरहेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको हो । पछिल्लो केही दिनयता काठमाण्डुको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । नेपालमा एमसीसीको विरोध भइरहेका बेला अमेरिकाले आफू वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा राखेको बताएका हो ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाण्डुस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत अमेरिकाले भनेको छ ।

हाल एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र उभिएको छ । गठबन्धन भित्र एमसीसी संसदबाट पास गर्ने की नगर्ने भन्ने विषयमा मतभेद रहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफू सरकारबाट बाहिरिन तयार रहेको तर संशोधन नगरी कुनै पनि हातलमा एमसीसी पास गर्न सहयोग नगर्ने अडान रोखेको छ । अमेरिकाले आफूले दिएको समय सीमा भित्र एमसीसी पास नगरे फिर्ता लैजाने बताइसकेको छ । साथै अमेरिकाले बारम्बार एमसीसी पास नभए नेपालसँगको कुटनीतिक सम्बन्ध कायम नरहने पनि चेतावनी दिँदै आएको छ ।


ताजा खबर