बीरगंज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज आइसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ७ महिनामा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि ४ प्रतिशतभन्दा बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमणको तेस्रो लहर जारी रहेको भए पनि मुलुकको आयात निर्यात बढेपछि बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो । 

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब १६ अर्ब ७१ करोड, १५ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्यभन्दा  ५ अर्ब १ करोड ६८ लाख ९२ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । 

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ७ महिनामा भन्सार राजस्व तर्फ ४४ अर्ब ३९ करोड १९ लाख १२ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४७ अर्ब ५३ करोड ९२ लाख ४४ हजार राजस्व असुली भएको छ । 

त्यसैगरी, अन्त शुल्क तर्फ १३ अर्ब ६७ करोड ४८ लाख ३५ हजार असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो । 

त्यसैगरी, बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ९ अर्ब २७ करोड २० लाख राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ८६ करोड ९८ लाख ५० हजार असुली गरेको छ । 

यसैगरी, वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३१ करोड ५५ लाख १५ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३ अर्ब ४० करोड ७८ लाख ८७ हजार असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

आइसिपी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  

चालू आवको सोही अवधिमा गत वर्षभन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो । –रासस


ताजा खबर