साउदी अरबमा एक वर्षमा २२४ श्रमिकले ज्यान गुमाए

साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।

दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा ‘फलोअप’ भइरहेको छ । अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ । २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ ।

३४ महिलाको उद्धार
यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उद्धार गरिएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाइएको हो । समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ती महिलालाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरिएको हो ।

यस्तै दूतावासले साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बस्दै आउनुुभएका ह्विलचियर प्रयोगकर्ता वेदबहादुर भुजेलले अस्पताललाई तिर्नुुपर्ने आठ लाख २३ हजार साउदी रियाल अर्थात् करिब अढाई करोड रुपियाँ अस्पतालबाट मिनाहा गराएको जनाएको छ । उहाँलाई अस्पतालमा तिर्नुुपर्ने रकम मिनाहा गराई नेपाल पठाइएको छ । भुजेलले अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन पाउनुभएको थिएन ।


ताजा खबर