मच्छिन्द्र क्लव दाेस्राे पटक ‘ए’ डिभिजन लिग च्याम्पियन

 मच्छिन्द्र क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि रक्षा गरेको छ । साविक विजेता मच्छिन्द्र दुई खेल अगावै लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार भएको ११औँ चरणको खेलमा मच्छिन्द्रले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो ।

मच्छिन्द्रलाई लगातार दोस्रो पटक लिग जिताउन अजरबैजानका खेलाडी नोर्लान नोभरुजोभले ५३ औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । नोर्लानले सातदोबाटोका गोलरक्षक अभिषेक बरालले फर्काएको बलमा गोललाइन नजिकबाट जाली चुमाउनुभएको थियो । ‘म्यान अफ दि म्याच’ बन्नुभएका नोर्लानले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

काठमाडौँको मध्यकेन्द्र जनबहालको मच्छिन्द्रले यसअघि २०७६ मा पहिलोपल्ट ‘ए’ डिभिजन उपाधि जितेको थियो । मच्छिन्द्र शीर्ष डिभिजन लिग जित्ने १६औँ टोली हो । जाइन्ट क्लबको छवि बनाएको नवप्रवेशी सातदोबाटोले पनि राम्रा अवसर गुमाएको थियो ।

खेलभर मच्छिन्द्रलाई कडा टक्कर दिएपनि हार टार्न सकेन । जितसँगै मच्छिन्द्रले २९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको २० अंक छ । पराजित सातदोबाटो १५ अंकसहित छैटौँ स्थानमा छ । लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सातौँ चरणको खेलमा शीर्ष स्थानमा रहँदै एएफसी कप खेल्ने मौका समेत पाएको छ ।

च्याम्पियन मच्छिन्द्रले लिगमा अब थ्रीस्टार र एपिएफ क्लबसँग खेल्न बाँकी छ । मच्छिन्द्रले ११औँ चरणसम्म आफ्नो अपराजित यात्रालाई समेत कायम राखेको छ । कोरोनाका कारण २०७७ सालमा लिग भएको थिएन । त्यसअघि मच्छिन्द्रलाई लिग जित्न अन्तिम खेलसम्म कुर्नुपरेको थियो ।

अघिल्लो लिगमा मच्छिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जितेको थियो । मच्छिन्द्र २०६२ सालमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । त्यसअघि मच्छिन्द्रले २९ बर्ष ‘बी’ डिभिजनमा समय गुजारेको थियो । २०६१ सालको ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा स्थान बनाएको मच्छिन्द्र अहिले नेपाली घरेलु फुटबलको बलियो टोली बनेको छ ।

टोलीमा नेपाली राष्ट्रिय टोलीका रोजाईका खेलाडीको समेत जमघट छ । मच्छिन्द्रको लगातार उपाधि जित्नुको बलियो पक्ष त्यही हो । उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपियाँ पुरस्कार सुनिश्चित गरेको छ ।

टिम भावनाले लिग जित्यौँ : कटुवाल

लिग जितेपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले टिम भावनाले खेल्दा लगातार दोस्रो पटक लिग जित्न सकेको बताउनुभयो । ‘टिम एक ढिक्का थियो । खेलाडीले धेरै मिहेनत गरे । व्यवस्थापनले पनि राम्रो साथ दियो । आज सातदोबाटोलाई जित्नैका लागि खेलेका थियौँ । सातौँ राउन्डमा मनाङलाई हराएर एएफसी कपमा छनोट भएपछि लिग जित्ने आधार बनेको थियो । एएफसी कपमा राम्रो तयारी गरेर अझै राम्रो खेल्नेछौँ,’ कटुवालले भन्नुभयो ।

कप्तान सुजल श्रेष्ठले टोलीमा राम्रा खेलाडी हुनु र टिम स्प्रिडलाई कायम राख्न सक्नुनै जितको आधार भएको बताउनुभयो । ‘यस पटकको लिगमा सबै टोली बलिया थिए । स्टार खेलाडीभएपनि हामीमा को खेल्ने, को नखेल्ने भन्ने मनमुटाव भएन । दुई खेल अगावै उपाधि जित्नु भनेको हामी थप बलियो हुनुको प्रमाण हो,’ सुजलले भन्नुभयो । उहाँले आजको जित र उपाधि च्यासलबिरुद्ध अघिल्लो खेलमा घाइते भएका मनिष डाँगीप्रति सर्मपण गर्न चालेको पनि बताउनुभयो ।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले बलियो टोली मच्छिन्द्रलाई बलियो टक्कर दिन सफल भएको बताउनुभयो । ‘खेल हामीले पनि जित्नका लागि खेलेका थियौँ । पहिलो हाफमा खेलाडीले सोचेजस्तै खेलेका थिए । मौका पाएर पनि गोल भएन । मच्छिन्द्र बास्तवमै भाग्यमानी बन्यो,’ केसीले भन्नुभयो ।

आर्मी र शेर्पाको बराबरी

लिग अन्तर्गत एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो ।

२६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । ६५औँ मिनेटमा शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा गोलरक्षक विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै आर्मी तेस्रो स्थानमा छ । आर्मीले ११ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट १३ अंक बनाएको शेर्पा आठौँ स्थानमा छ । –रासस


ताजा खबर