नागरिक लगानी कोष र नेपाल टेलिकमको नाफा १९ प्रतिशत

सरकारी लगानीका दुई ठूला कम्पनीहरूले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १९ प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् ।

दूबै कम्पनीले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा नागरिक लगानी कोषले २०.७३ प्रतिशतले र नेपाल टेलिकम लिमिटेडले १८.४९ प्रतिशत बढी खुद नाफा कमाएका हुन् ।

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पुससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४९ प्रतिशतले खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ अर्ब ७२ करोड रुपैयाँ सेवा बिक्री बाट आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.८७ प्रतिशतले बढेको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष ५.२२ प्रतिशतले बढेको र कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको नेपाल टेलिकमले जनाएको छ ।

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुससम्ममा गत वर्षको तुलनामा २०.७३ प्रतिशतले बढी खुद नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९.५७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी १९.११ प्रतिशतले बढेको छ भने कुल खर्च १४.०५ प्रतिशत बढेको छ ।

नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ ३२ पैसाबाट १५ रुपैयाँ ५० पैसा घटेर २३ रुपैयाँ ८२ पैसा पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९९.३१ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.१३ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


ताजा खबर