२०७९ वैशाख २९ गते १८ वर्ष पुग्ने सबैले मतदान गर्न पाउने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता नामावली दर्ता गराएका, २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने सबैले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगआइतवार आयोगको कार्यालय काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस अघि निर्वाचन घोषणा मिति सम्ममा १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउँदै आएकोमा यस पालीदेखि निर्वाचन हुने एक दिन अघि १८ वर्ष उमेर पुगेका सबैले मतदान गर्न पाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

निर्वाचन आयोगका सचिव दुवाडीले यसबाट करिब थप २ लाख युवाले मतदानमा सहभागिता जनाउन पाउने बताउनुभयो ।

सचिव दुवाडीले आयोगले मतदाता नामावली अद्यावधिक गर्ने लगायतका तयारीलाई अगाडि बढाएको बताउनुभयो ।

१६ वर्ष उमेर पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावली सङ्कलन गराउन पाउने व्यवस्था रहेको छ तर मतदानका लागि भने १८ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था रहेको छ ।

आयोगका सचिव दुवाडीले निर्वाचनको मिति ढिला गरी घोषणा गरिएको भए पनि आयोगले यसअघि पनि निर्वाचन सम्बन्धी केही तयारीहरू गरेको हुँदा तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि करिब १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको र आवश्यक बजेटको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जानकारी दिनुहुँदै स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा व्यवस्थापन निर्देशिका, मतदान निर्देशिका, मतगणना निर्देशिका लगायतका निर्देशिकाहरूको तयारी भइरहेको र क्रमशः स्वीकृत गरी लागु गरिँदै जाने बताउनुभयो ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यता सम्बन्धी कार्यको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको जानकारी दिनुभयो ।

२०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता कायम भएका थिए ।

गत वर्ष २०७७ पुस ५ गते सम्म अद्यावधिक गरिएको अन्तिम मतदाता नामावली अनुसार १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता कायम भएका थिए ।


ताजा खबर