अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । आयोगले स्थापना दिवस मनाउने क्रममा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईसहित ७९ जनाले रक्तदान गर्नुभएको बताउनुभयो ।

प्रवक्ता भण्डारीले स्थापना दिवसलाई नै लक्षित गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगको स्मारिका–२०७८ प्रकाशन गरेको जानकारी दिनुभयो । आयोगले यसअघि नारा लेखन प्रतियोगिता आयोजना गरी उत्कृष्ट नारा लेख्ने १० जनालाई दुई–दुई हजार रुपियाँको दरले पुरस्कृत गरेको थियो । सातवटै प्रदेशमा रहेको प्रादेशिक कार्यालयले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त प्रतियोगिता उत्कृष्ट हुने सहभागीलाई समेत पुरस्कृत गर्ने योजना रहेको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण गर्ने निकायका रूपमा २०४७ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको थियो ।


ताजा खबर