प्रदेश २ का दलितलाई सहुलियत रासनकार्डको व्यवस्था : अत्यावश्यक खाद्यावस्तु सहुलियतमा उपलब्ध गराइने

जनकपुरधाम, २६ कार्तिक । प्रदेश २ का दलित समुदायलाई सहुलियत रुपमा रासन उपलब्ध गराउन प्रदेश सरकारले रासन कार्डको व्यवस्था गर्ने भएको छ ।
रासन कार्ड प्राप्त गरेका दलित समुदायलाई अति आवश्यक खाद्यान्न वस्तु सहुलियत दरमा उपलब्ध गराइने भएको छ ।

दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार प्रदेशसभामा पारित भएसँगै दलित समुदायले अब रासन कार्ड पाउने भएका छन् ।

दुई महिनापछि सोमबार बसेको प्रदेश २ को सभाले दलित सशक्तिकरण विधेयक पारित गरेको छ । विधेयकमा प्राविधिक शिक्षातर्फ इन्जिनियर, डाक्टर, कानून, पत्रकारिता पढ्न चाहने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ । स्नातक तहदेखि अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्यूसन शुल्क र पोशाक समेत प्रदेश सरकारले नै उपलब्ध गराउनेछ ।

दलितमैत्री विद्यालय निर्माणका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने जनाएको प्रदेश सरकारले संविधान अनुसार प्रत्येक दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म अनिवार्य र निशुल्क शिक्षाको कार्यान्वयन भएरनभएको अनुगमन समेत गर्नेछ ।

जातीय भेदभावलाई प्रोत्साहन गर्ने सांकेतिक भाषाचित्र प्रयोग गरिनेगरी पाठ्यपुस्तक बनाइएको भए प्रदेश सरकारले त्यसलाई हटाउन समेत पहल गर्नेछ ।


ताजा खबर