सर्लाहीको हरिवनमा मौलिक लोकबाजा प्रशिक्षण

सर्लाहीको हरिवन नगरपालिकामा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 

१० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका गरी २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनुभयो । चेतना सन्देश नेपालको सह आयोजनामा हरिवन–५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एवं बेची लुङेलीले ढोलक र मादल बजाएर आज तालिमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय नाच घरका पूर्व अध्यक्ष राजेश थापा, सांस्कृतिककर्मी चन्द्रलाल क्याप्छाकि, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, सामाजिक व्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मादल, ढोलक लगायत परम्परागत लोकबाजाको प्रशिक्षण दिइने प्रशिक्षक भरत बुढाथोकीले जानकारी दिनुभयो । तालिमले रुचि भएका कला पारखीको कलालाई व्यावसायिक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।


ताजा खबर