भारतमा थप ७१ हजारमा कोरोना पुष्टि : १२ सयको मृत्यु

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरू एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ । 

नयाँ सङ्क्रमितहरूको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ । 

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ । –एएनआई/रासस


ताजा खबर