विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिम ओमान प्रस्थान

नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप छनोटका लागि नेपाली टिम ओमान प्रस्थान गरेको छ । नेपाली टिम मङ्गलवार साँझ ओमान प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले भर्चुअल बिदाइ गर्नुभएको थियो ।

मन्त्री गहतराजले क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।। खेलहरू फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छन् ।

जस अन्तर्गत पनि दुई समूह मा विभाजन गरेर खेलाइने खेलमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान एक अर्का विरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्ने छन् । अर्को समूह मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

दुवै समूहको शीर्ष दुई मा रहने चार टिम बिच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ । सेमिफाइनलबाट फाइनल पुग्ने दुई टिम विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगिता अघि नेपालले चार देशीय टी–२० सिरिज खेल्ने छ । नेपालले आयरल्यान्ड, युएई र ओमान सहित तीन देशसँग प्रतियोगिता अघि प्रतिस्पर्धा गर्दै छ । –रासस


ताजा खबर