बालकृष्ण समको १२०औँ जन्मजयन्तीमा रचनावाचन

नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।”
प्रतिष्ठानका सदस्य प्रा जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा चर्चा गर्दै सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताउनुभयो ।

साहित्य (पद्य/काव्य) विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमासमेत समको विशिष्ट योगदान रहेको बताउनुभयो । साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुखका डा देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताउनुभयो ।


ताजा खबर