राप्रपाबाट अलग भएको पूर्वअध्यक्ष कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। मङ्गलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताउनुभएको हो।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेख्नुभएको छ। थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना सफल नभएको उल्लेख गर्नुभएको छ। पार्टीमा आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उहाँको भनाइ छ।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि म यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, अध्यक्ष थापाले भन्नुभयो।

पार्टीबाट अलग भए पनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको उहाँले विज्ञप्तिमा प्रष्ट पार्नुभएको छ।

‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु’, विज्ञप्तिमा थप भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन।’

पार्टी परित्याग गर्दै उहाँले सबैको भलो होस् भन्ने कामना गर्नुभएको छ। ‘सबैको भलो होस् भन्ने कामना गर्दछु’, विज्ञप्तिको अन्तिममा लेखिएको छ। नेता राजाराम बर्तौलाका अनुसार मङ्गलबार हेटौंडा पुगेर आफ्ना समर्थकका साथ उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो।


ताजा खबर