बाल कविता सङ्ग्रह ‘मुसीको चकचक’ सार्वजनिक

सञ्चारकर्मी ताराप्रसाद वस्तीद्वारा रचित ‘मुसीको चकचक’ शीर्षकको बाल कविता सङ्ग्रह सार्वजनिक भएको छ । 

रचनाकार स्वयम् प्रकाशक रहेको बाल कविता सङ्ग्रहमा सरल शब्दहरू प्रयोग गरेर मिठो लयमा गाउन समेत मिल्ने गरी लेखिएका तीस वटा कविताहरू समावेश छन् । 

साना बालबालिकादेखि वयस्क बालबालिकाहरूका भावनाहरू सङ्ग्रहमा प्रतिबिम्बित भएका छन् । प्रकृति तथा वातावरणका कुरा, स्वावलम्बनका कुरा, जिम्मेवारी र समयको महत्त्व तथा शिक्षा स्वास्थ्यका कुरा एवम् सहयोग, सहकार्यका कुराहरू बालबालिकाको भनाइका रूपमा कविता सङ्ग्रहमा प्रस्तुत गरिएका छन् ।

‘चकचके मुसी’, ‘हिमाल’, ‘मेरो जिम्मेवारी’, ‘ज्ञानी बन्नुपर्छ’, ‘अघि बढौँ’, ‘बन्ने थिएँ ज्ञानी’, ‘दोधारमा परेँ’, ‘मायैमाया छ यो बालापनमा’, ‘प्यारो लाग्छ’, ‘बुबु खान्छु म त’, ‘अरू भर पर्दिनँ’ लगायतका ३० शीर्षकमा रचिएका कविताहरू बालबालिकाहरूका लागि निक्कै रमाइला र शिक्षाप्रद रहेका छन् । 

‘मुसीको चकचक’ बाल कविता सङ्ग्रह पढ्न निक्कै रमाइलो र चाखलाग्दो एवम् साहित्यप्रति रुचि राख्ने बालबालिकाहरूका लागि उपयोगी खुराक रहेको छ ।

तीन दशकभन्दा बढी समयदेखि रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी ताराप्रसाद वस्तीसँग झन्डै अढाई दशक लामो रेडियो नेपालको बालबालिका कार्यक्रम संयोजन, सञ्चालन तथा प्रस्तुतीकरणको अनुभव रहेको छ । 

हाल रेडियो नेपालको साहित्य संसार कार्यक्रमको सञ्चालक एवम् प्रस्तोता रहनुभएका श्री वस्तीको केही वर्षअघि ‘सिर्जनाका साथीहरू’ शीर्षकको बालकथाको सङ्ग्रह पनि प्रकाशित भएको थियो ।


ताजा खबर