२४औँ विन्टर ओलम्पिक चीनको बेइजिङमा जारी

२४औँ विन्टर ओलम्पिक चीनको बेइजिङमा शुक्रवार देखी जारी छ । कोरोना भाइरसका कारण उद्घाटन समारोहमा खेलाडी, प्रशिक्षक, अफिसियल र थोरै भिआइपी मात्र उपस्थित भएका छन् । २० फेब्रुअरीसम्म चल्ने बेइजिङ विन्टर ओलम्पिकमा ९१ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक सात खेलमा एक सय नौ इभेन्ट्स समावेश गरिएको छ । खेलाडीहरूले एक सय नौ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । २२औँ संस्करणमा दुई हजार आठ सय ७१ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमध्ये एक हजार ८१ पुरुष तथा एक हजार दुई सय ९० महिला खेलाडी छन् । 

उद्घाटन समारोहमा चीनका विभिन्न ५६ जनजातिहरूले राष्ट्रिय झन्डा फहराएका थिए । उद्घाटन समारोहको अवसरमा ओलम्पिक रिङहरू आफैँ बरफको जमेको ब्लकबाट निस्केका थिए । खेलाडीहरू यसैको मुनिबाट रंगशालाभित्र प्रवेश गरे । बेलायतबाट अलपाइनका क्युलरले झन्डा बोकेका थिए । उनको यो चौथो विन्टर ओलम्पिक सहभागिता हो । एसियाले लगातार तेस्रोपटक ओलम्पिक आयोजना गर्ने अवसर पाएको छ । सन् २०१८ मा दक्षिण कोरियामा विन्टर, २०२२ मा जापानले ग्रीष्मकालीन तथा २०२२ मा चीनले विन्टर ओलम्पिक आयोजना गरिरहेको छ । 

विन्टर ओलम्पिकको सम्बन्धमा पश्चिमेली देश र अन्तर्राष्ट्रिय मानवअधिकारवादीले विरोध जनाइरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले ती सबै आलोचनालाई पाखा लगाउँदै चीनले विन्टर ओलम्पिकको उद्घाटन भव्यका साथ गरेको जनाएको छ । खेलको माध्यमबाट खेल र देश एक सूत्रमा बाँध्ने काम नै विन्टर ओलम्पिकले गरेको आइओसीका अध्यक्ष टोमास बाचले बताएका छन् । 

‘खेलकुदको एउटै लक्ष्य रहन्छ, सबै विविधतामा मानव जातिलाई एकताबद्ध गर्नु हो,’ उद्घाटन समारोहमा आइओसीका अध्यक्ष बाचले भने, ‘सबै विन्टर ओलम्पिकबारे नराम्रो टिप्पणी गर्नेहरूलाई यति मात्र भन्न चाहन्छु कि खेलकुदबाट शान्ति ल्याउन सकिन्छ, यसमा सबैले विश्वास गर्नुपर्छ ।’ ओलम्पिकका अध्यक्ष बाचले एक–आपसमा सम्मान गर्नु नै खेलकुदको महानता भएको जनाए । ‘तपाईंहरूले उद्घाटन समारोहमा देख्नु नै भयो, हामी सबैले एक–आपसमा सम्मान गरिरहेका छौँ, खेलकुदको सुन्दर पक्ष नै यही नै हो,’ बाचले भने । शीत तथा ग्रीष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने बेइजिङ एक मात्र सहर हो । 

सन् २००८ मा बेइजिङले ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो । शीत र ग्रीष्म ओलम्पिक आयोजना गर्ने बेइजिङ एक्लो सहर हो । बेइजिङले विन्टर ओलम्पिक प्रतियोगिताको आयोजना प्राप्त गर्न अन्तिम समयमा काजकिस्तानलाई निराश पारेको थियो । भोटिङका आधारमा चीनले ४४ मत र काजकिस्तानले ४० मत प्राप्त गरेको थियो । ग्रिसको एथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बर्ड नेस्ट राष्ट्रिय रंगशालाको मध्यभागमा रहेको एउटा विशाल हिमपातजस्तो आकारको क्षेत्रमा प्रज्वलित गरिएको थियो । ओलम्पिक टर्च प्रज्वलित भएपछि आधिकारिक रूपमा २४औँ विन्टर ओलम्पिक सुरु भएको हो । 

गत १८ अक्टोबरमा विन्टर ओलम्पिकको टर्चको यात्रा एथेन्सबाट भएको थियो । विभिन्न देशको परिक्रमापछि शुक्रबारै मात्र बेइजिङमा यो टर्च पुर्‍याइएको हो । आयोजक कमिटीले बर्ड नेस्ट रंगशालामा समर्थक, खेलाडीका साथीहरू तथा परिवारलाई प्रवेश निधेष गरिएको थियो । यहाँ केवल कूटनीतिज्ञ तथा टोलीका सदस्यहरूलाई मात्र अनुमित दिइएको थियो । 

यही नियमअनुसार चीनले ओलम्पिकमा सहभागी हुने सबै देशका अधिकारीहरूलाई निम्तो पठाएको थियो । पछिल्लो समयमा भारतले पनि विन्टर ओलम्पिकमा कुनै पनि अधिकारी नपठाउने घोषणा गरेको छ । भारतले आफ्ना विशिष्ट अधिकारी नपठाउनुको एउटै कारण छ । गत वर्ष गलवान क्षेत्रमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यस झडपमा चिनियाँ सैनिकहरूले भारतीय सैनिकलाई घाइते बनाएका थिए । भारतले खेलकुदमा राजनीति आरोप लगाउँदै आफ्ना अधिकारी नपठाउने भनिएको छ । -सिन्ह्वा


ताजा खबर