देशभर वर्षा र हिमपात : मौसम केही दिन प्रभावित हुने 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । 

आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिने आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

दुई दिन वर्षा र हिमपात, आइतबारबाट मौसममा सुधार आउने

शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको बताइएको छ । 

शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच अहिले काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । साथै देशका विभिन्न भू-भागमा पनि वर्षा र हिमपात भएका समाचारहरू आइरहेका छन् । यो वर्षा र हिमपात शुक्रवार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबार पनि वर्षा जारी रहने बताइएको छ । –रासस


ताजा खबर