शान्तिसुरक्षा वारे गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।

उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिनुभएको हो ।

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनुपर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुछ गर्नुभएको थियो ।

उहाँले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

त्यसैगरी चक्रपाणि पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालसँग कुराकानी गर्नुभएको थियो ।

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजग गराएको बताउनुभयो । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गर्नुभयो । –रासस


ताजा खबर