निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आयोगद्वारा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयाेगलाई सुझाव दिनुभएकाे छ । चुनावकाे माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने/गराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्ताे सुझाव दिनुभएको हाे । 

उहाँले चुनाव प्रणालीलाई लैङ्गिकमैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल एवम् केन्द्र मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

‘आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेतको चुनाव गराउने महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएकाे छ । शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समयसीमाभित्र नै सबै चुनाव सम्पन्न गर्न आवश्यक छ । आवधिक र अन्य चुनावका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रूपमा तयारी अवस्थामा रहनुपर्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयाे । 

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक काम गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोग नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्ध्राैँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेको हो ।

यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र त्यसकाे व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको सङ्ख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपचुनाव लगायतका विषयमा जानकारी गराउनुभयो । 

राष्ट्रपति भवनमा सोमवार आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाउनुभएको छ ।


ताजा खबर