थप ३,५४० जनामा कोरोना पुष्टि : ३२ संक्रमितको मृत्यु

कोरोना भाइरसबाट आज ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजित प्रेस बिफ्रिङमा माघ १३ गतेदेखि आजसम्म श्री वीरेन्द्र अस्पतालमा १२ जना र अन्य विभिन्न अस्पतालमा थप २० जना गरी ३२ जनाको मृत्यु भएको प्रवक्ता सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

आज देशभरि ३ हजार ५ सय ४० जना कोरोनाबाट थप संक्रमित भएका छन् ।

१३ हजार १ सय ४५ नमुनाको परिक्षण गर्दा ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ६ हजार ३ सय ५९ जनाले कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् ।

देशभरि ८३ हजार ९ सय ९९ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी प्रयोगशाला बाहिरा गरिएको नमुना परीक्षणको यकिन नतिजा सरकारलाई उपलब्ध गराउन विभिन्न प्रयोगशालाहरूलाई अनुरोध गरेको छ ।

दुई महिनाभित्र ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाइने

यसैगरी मन्त्रालयको आजको प्रेस विफ्रिङमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले आगामी दुई महिनाभित्र ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो ।

डा. मरासिनीले अहिले पनि सरकारसँग १० लाख प्यारा सिटामोल भण्डारणमा रहेको जानकारी दिनुहुँदै प्यारा सिटामोलको अभाव रोक्न निजी फार्मेसीहरूको अनुगमन गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै सरकारले चैत्र मसान्तभित्र १८ वर्ष माथिका सत प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्यका साथ खोप अभिलेखको अद्यावधिक गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिले २ हप्तामा खोपको अभिलेख स्पष्ट पार्ने मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

यसैगरी सरकारले पहिलो र दोस्रो खोपको मात्रा कोभिशिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल जुन लगाएको भए पनि खोपको बुस्टर डोजमा कोभिसिल्ड र एस्ट्राजेनेकाको मात्रा दिइने प्रवक्ता मिश्रले बताउनुभयो ।


ताजा खबर