मुलुक विकास गरेर सहिदको सपना साकार गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो ।

सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राख्नुभयो । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।” सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राख्नुभयो । महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहनुभएको थियो ।

May be an image of 4 people and text

कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो । सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइयो । कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ ।


ताजा खबर