बङ्गलादेशका राष्ट्रपति आज आउनुहुँदै : कात्तिक २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुने

कात्तिक २६ गते ।

जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ । बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।

दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ । उहाँले भ्रमण गर्नुहुने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ ।

राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उहाँसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नुहुनेछ । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

घनिष्ठ सम्बन्धको विगत
बङ्गलादेश र नेपालबीच सन् १९७२ अप्रिल ८ देखि द्विपक्षीय सम्बन्ध कायम भएको हो । सौहार्द, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको यो सामाजिक, भौगोलिक सम्बन्ध सन् १९७२ देखि कूटनीतिक सम्बन्धमा रूपान्तरण भयो । दुईपक्षीय रूपमा हुने उच्च तहका भ्रमण र विभिन्न अवसरमा हुने भेटवार्ताले सम्बन्धलाई थप बलियो र सौहार्दपूर्ण बनाउन मद्दत गरेको छ ।

नेपाल र बङ्गलादेश दक्षिण एसिया क्षेत्रका अतिकम विकसित देश हुन् । दुवै देशले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), आर्थिक, सामाजिक र प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), विश्व व्यापार सङ्गठन (डब्लूटीओ)लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा राख्ने गरेका छन् । दुई देशबीच सन् २०१२ मा विदेश सचिवस्तरीय विदेश कार्यालय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौता भयो । त्यस संयन्त्रले नियमित र विस्तृत रूपमा दुई देशबीच द्विपक्षीय सम्बन्धको सम्पूर्ण क्रियाकलापको समीक्षा गर्छ । जसअनुसार संयन्त्रको दोस्रो बैठक सन् २०१७ मा आयोजना भयोे ।

व्यापार सम्बन्ध
दुई देशबीचको आर्थिक सम्बन्ध बङ्गलादेशको उदयदेखि वर्तमानसम्मको यात्रामा विस्तारित बनेको छ । बङ्गलादेशमा नेपालबाट विशेषगरी पहेँलो दाल, तेल, ठूलो अलैँची, गहुँ, तरकारीको बीउ, हस्तकला र पश्मिनाका उत्पादन निर्यात हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै बङ्गलादेशबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ, रसायन, लत्ताकपडा, जुट, विद्युतीय सामग्री आयात हुने गर्छ । व्यापार सम्बन्ध हेर्दा भने अझै पनि नेपाल घाटामा रहेको छ ।

सन् २०१२ मा बङ्गलादेशबाट झन्डै दुई अर्ब रुपियाँभन्दा बढीको आयात भएको थियो । निर्याततर्फ भने तीन अर्ब बढीको भएको थियो । त्यसपश्चात् नेपालको निर्यात बङ्गलादेशको भन्दा घट्दो क्रममा रहेको छ । जसअनुसार सन् २०१६ मा बङ्गलादेशबाट हालसम्मकै बढी पाँच अर्ब रुपियाँ बराबरको आयात भएको थियो । नेपालले भने जम्मा एक अर्ब ३८ करोड रुपियाँ बराबरको निर्यात गर्न सकेको थियो ।

सन् १९९७ देखि काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध व्यापारमार्गको सुरुआत भएको छ । त्यस्तै बङ्गलादेशले रोहनपुर–सिङ्घबाद हुँदै नेपाललाई रेलवे करिडोरको सुविधा प्रदान गरेको छ । आर्थिक विकासमा साझेदारी गर्न सन् १९७८ मा अर्थमन्त्रीस्तरीय नेपाल–बङ्गलादेश संयुक्त आर्थिक आयोगको गठन गरी सहकार्य हुँदै आएको छ ।

लगानीतर्फ नेपालमा बैङ्किङ तथा वित्तीय, बीमाका क्षेत्रमा बङ्गलादेशले नेपालसँग संयुक्त लगानीमा काम गरिरहेको मन्त्रालयको भनाइ छ । तयारी गलैँचा, छालाका सामान, औषधिजन्य सामग्री, पीभीसी पाइप उत्पादनको क्षेत्रमा थप लगानीको पहल भइरहेको छ ।

पछिल्लोपटक सन् २०१६ मा नेपाल–बङ्गलादेशबीच तेस्रो वाणिज्य सचिवस्तरीय बैठक र सन् २०१७ मा दुई देशबीचको अतिरिक्त संयुक्त सचिवस्तरीय प्राविधिक समितिको बैठक ढाकामा बसेको थियो । उदार वैदेशिक लगानी नीति अनुसरण गर्दै गरेको नेपालले बङ्गलादेशसहित सार्क मुलुकलाई नेपालमा लगानीका लागि अन्यत्रभन्दा खुकुलो गरेको छ ।

नेपाल र बङ्गलादेशबीचको मन्त्रीस्तरीय वाणिज्य वार्तामा भएको सहमतिअनुसार नेपाली वस्तुलाई शून्य भन्सार दर लगायतका सुविधासहित बजार दिन बङ्गलादेश सकारात्मक छ । पछिल्लो समय नेपालमा उत्पादित बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा पनि दुई देशबीच सहकार्य चलिरहेको छ । यसो हुँदा नेपालले कृषि उत्पादन, तरकारी, फलफूल, दाल लगायतका १४६ वस्तुमा सुविधा र बजार पहुँच बङ्गलादेशमा पुग्नेछ । बङ्गलादेशले पनि आफ्ना १८० वस्तुमा नेपालमा सहज बजार र सुविधाको माग अघि सारेको थियो ।

नेपालबाट सिकेको हो : मन्त्री महमुद
बङ्गलादेशका सूचनामन्त्री डा. मोहम्मद हसन महमुदका अनुसार जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तिको रोकथाम गर्न बङ्गलादेशले नेपालबाट सिकेको हो । वैशाखमा नेपालमा भएको त्यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्ना अनुभव सार्वजनिक गर्नुभएको थियो । जसअनुसार नेपालको सञ्चार र सूचना कार्यको अनुभवबाट सिकेर हाल बङ्गलादेशले सार्क क्षेत्रकै नमुना पूर्वतयारी र विपद् व्यवस्थापन प्रणालीको विकास गरेको छ ।

भारतबाट पाकिस्तान छुट्टिएलगत्तै बङ्गलादेश पाकिस्तानबाट सन् १९७१ मा स्वतन्त्र भयो । उहाँका अनुसार राष्ट्र व्यवस्थापनसँगै प्राकृतिक विपत्ति व्यवस्थापनको सङ्कट त्यो बेलाको सरकारमाथि थियो । भारतको सहयोगको कल्पना थिएन । अन्य देशले गर्न सक्ने अवस्था नै थिएन । जसका कारण सन् १९७० ताकाकोे प्राकृतिक विपत्तिमा एक लाख बढी मानिसले ज्यान गुमाए । यस्तोमा सहृदयी नेपालजस्तो देशकै साथ लिएर अघि बढ्नुको विकल्प थिएन ।

“मौसमको पूर्वानुमान कसरी जनमानससम्म सञ्चार गर्ने भन्ने ठूलो कठिनाइ नेपालबाटै समाधान भएको हो,” उहाँले भन्नुभयो, “नेपालमा रेडियो एफएम विकासको अध्ययन र यहाँको पूर्वतयारीको अभ्यासको सिकाइबाट सञ्चारको विकास ग¥यौँ ।” बङ्गलादेशको राजधानी ढाकाबाहेकका धेरै क्षेत्र वर्षामा अत्यधिक डुबानमा पर्ने गर्छ । साइक्लोन आँधीसँगै टोर्नाडो र बाढीपहिरोले आक्रान्त भइरहने देश बङ्गलादेशले पछिल्लो एक दशकमा साँच्चिकै ठूलो फड्को मारेको छ ।

सन् १९९१ मा भएको विपत्तिमा दुई सय बढी मानिस हताहत भएका थिए । पूर्वतयारी विकसित हुँदै जाँदा सन् २००९ को विपत्तिमा करिब एक सयको हाराहारीले मात्र ज्यान गुमाए । यसरी जनधनको क्षति कम हुनुमा मौसमको जानकारी समयमै पाउनु र सुरक्षित हुने अवसरको सिर्जना हुनु रहेको उहाँको कथन थियो ।

करिब ३५० सामुदायिक रेडियोबाट एकचोटि नम्बर मापनका आधारमा पूर्वसूचना प्रदान गरिन्छ । “दस नम्बर सिग्नलले टिनको छानासमेत उखेलेर लाने विपत्ति आउँदै छ भन्ने थाहा पाएपछि सरकारले बनाएको आधार शिविरमा मानिस जान्छन् र बच्छन्,” उहाँले भन्नुभयो, “त्यति मात्र हैन, सुक्खा क्षेत्रमा बढी जलक्षेत्रबाट जल हस्तान्तरण गरेर सुविधासमेत बढाएका छौँ ।”
पहिले खाद्यान्न आयात गर्ने देश यतिबेला ४७ प्रतिशत उत्पादन निर्यात गर्छ । विज्ञानको क्षेत्रमा बाढी तथा सुक्खा क्षेत्रको विकासका लागि गतिला आविष्कार गर्न सफल छ ।

रासस


ताजा खबर