मौरिससका प्रशिक्षकले गरे नेपाली टोलीको प्रशंसा

नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेलअघि मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली टोलीको प्रशंसा गर्नुभएको छ ।

मौरिसस दुई वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । कोरोना सङ्क्रमणका कारण मौरिससमा घरेलु फुटबल बन्द भएको पनि एक वर्ष बितिसकेको छ । यस्तो अवस्थामा सङ्घले उपलब्ध खेलाडीलाई क्याम्पमा राख्दै मैत्रीपूर्ण खेलको लागि तयारी गरेको थियो । नेपाल आएको टोलीमा विदेशी लिग खेल्ने खेलाडीको उपस्थिति भने रहेको छैन । टोलीले डेढ महिना एकसाथ प्रशिक्षण गरेर नेपाल आएको हो ।

प्रशिक्षक फ्रान्कोइसले नेपाली टोलीको खेलको प्रशंसा गर्दै खेल सहज नहुने बताउनुभयो ।

मौरिसस नेपाल आइपुगेको दिन नै ४ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित खेलाडीले पहिलो खेल गुमाउने जानकारी प्रशिक्षक टोनीले दिनुभयो । उहाँले आइतबार आइसोलेसन पूरा गरेपछि मात्र ती खेलाडी टोलीमा सामेल हुने बताउनुभयो ।

त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध खेल टोलीका लागि फरक अनुभव हुने बताउनुभयो । किरण माल्दिभ्सबाट दुई दिनअघि मात्र नेपाल आइपुग्नुभएको हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस पटक दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक टोलीका सबै खेलाडी समेट्दै दुई खेलका लागि फरक टोली घोषणा गर्नुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार दशरथ रङ्गशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रङ्गशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको बताइन्छ । त्यसर्थ झन्डै ५ हजार दर्शकले मैत्रीपूर्ण खेल रङ्गशाला पुगेर हेर्ने पाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो ।

नेपाल र मौरिससबीच शनिबार र मङ्गलवार दुई मैत्रीपूर्ण खेल हुनेछ । खेल दिउँसो ४ः४५ बजे सुरु हुने बताइएको छ । त्यसका लागि मौरिसस टोली सोमबार काठमाडौँ आइसकेको छ ।

एन्फाले रङ्गशालाको भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने खेलमा दर्शकले अनिवार्य रुपमा खोप लगाएको कार्ड लिएर जानुपर्ने एन्फाले बताएको छ । –रासस


ताजा खबर