नेपालमा भ्रष्टाचारको स्थिति जस्ताको तस्तै

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचारको स्थितिमा सुधार नभएको र सुशासनका लागि पर्याप्त काम हुन नसकेको हो ।

नेपालमा सुशासनको अवस्थामा सुधार नआएको एक अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ। भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्कले नेपाल संसारका १८० देशमध्ये ११७औं स्थानमा रहेको देखाएको छ। गत वर्ष पनि नेपाल यही स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा गत वर्षभन्दा भ्रष्टाचारको स्थितिमा सुधार नभएको र सुशासनका लागि पर्याप्त काम हुन नसकेको जनाएको छ।

भ्रष्टाचार धारणा सूचकाङ्कको मान ० देखि १०० सम्म हुन्छ। जसमा ० ले अत्यन्तै धेरै भ्रष्ट मुलुकको सङ्केत गर्छ भने १०० ले उच्च सुशासन भएको मुलुक जनाउँछ। नेपालले १०० मा ३३ अङ्क पाएको छ। यसको अर्थ नेपालमा भ्रष्टाचार तीव्र र गहिरो छ।

संसारका सबैभन्दा कम भ्रष्ट मुलुकमा डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड छन्। यी तीन मुलुकले १०० मा ८८ अङ्क पाएका छन्। 

संसारका सबैभन्दा धेरै भ्रष्ट मुलुकमा दक्षिण सुडान, सिरिया, सोमालिया जस्ता अफ्रिकी देशहरू छन्। वरीयताक्रममा १८०औं नम्बरमा रहेको दक्षिण सुडानले १०० मा ११ अङ्क मात्रै पाएको छ। 

छिमेकी देश भारतको वरीयताक्रम ८५ औं स्थानमा छ। भारतले १०० मध्ये ४० अङ्क पाएको छ। यस्तै, ६६औं स्थानमा रहेको चीनले १०० मा ४५ अङ्क पाएको छ। 

संसारका दुई तिहाइभन्दा बढी देशले १०० मध्ये ५० भन्दा थोरै अङ्क पाएका छन्। यसले संसारमा भ्रष्ट देशहरूको सङ्ख्या धेरै रहेको सङ्केत गर्छ।


ताजा खबर