फिफा वर्ष खेलाडी अवार्ड पोल्याण्डका लेवान्डोस्कीलाई

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक यस अवार्ड जित्नुभएको हो ।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गर्नुभएको थियो । जर्मन बुन्डेसलिगा मात्र उहाँले ३४ खेलमा ४३ गोल गर्नुभएको थियो । फिफा वर्ष खेलाडी अवार्ड जित्नेक्रममा लेवान्डोस्कीले इजिप्ट एवं लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्नुभयो ।

फिफाले पोर्चुगल एवं म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टीयानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मान गरेको छ । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो । उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड बार्सिलोनाकी अलेक्सिया पुटेलासलाई प्रदान गरियो ।

यसैगरी फिफा पुस्कास अवार्ड सेभियाका इरिक लामेलाले जित्नुयो । उत्कृष्ट उत्कृष्ट गोलरक्षकको अवार्ड चेल्सीका इडोआर्ड मेन्डी र फिफा फेयर प्ले अवार्ड डेनमार्डको पुरुष राष्ट्रिय टिम, प्रशिक्षक अवार्ड पुरुषतर्फ चेल्सीका थोमस टुचेल र महिलामा चेल्सीकै एम्मा हेयसलाई प्रदान गरियो । 

फिफा उत्कृष्ट पुरुष गोलरक्षक अवार्ड चेल्सीका एडुआर्ड मेन्डी र महिला गोलक्षकतर्फ चिलीकी क्रिस्टियन एन्डलरलाई प्रदान गरिएको छ । विश्व फुटबल महासंघ (फिफा) ले स्वीट्जरल्यान्डको जुरिचमा ससोमबार राति आयोजित विशेष समारोहबीच खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । फिफाले हरेक बर्ष आफ्नो सदस्य देशको राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र मिडिया प्रतिनिधिको मतका आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ । –रोयटर्स


ताजा खबर