नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा स्थगित : महासंघ विभाजित हुने संभावना टर्यो

काठमाडौं। विशेष साधारणसभामा पेश हुने एजेण्डाका कारण दुई ध्रुबमा बिभाजित नेपाल उद्योग बाणिज्य महासंघ ठूलो दुर्घटना हुनबाट जोगिएको छ। लामो रस्साकस्सीपछि विशेष साधारणसभा स्थगित मात्रै भएको छैन महासंघ विभाजित हुने संभावित दुर्घटना पनि टरेको छ।

महासंघका विशिष्ठ सदस्य एवं विधान समिति संयोजक चण्डीराज ढकाल वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउने प्रावधान संशोधनको पक्षमा थिए, जसका कारण ५३ बर्ष पुरानो संस्था फुट्ने अवस्थामा पुगेको थियो। चण्डीको एजेण्डाको विपक्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायत थिए।

विधान संशोधनको दुई पक्षको तातो भुंग्रोमा थिईन् महासंघकी अध्यक्ष भवानी राणा। दुबै पक्षलाई बराबरीमा राखेर समस्या समाधान गर्नुपर्ने चुनौती उनी सामु थियो। महासंघमा पछिल्लो समयमा एकले अर्को पक्षलाई उफार्ने र पछार्ने गर्दा थिलोथिलो भइसकेको थियो।

सरकारपछिको सबैभन्दा बढी संजाल भएको बलियो संस्थाको रुपमा रहेको महासंघ आन्तरिक राजनीतिबाट धेरै नै कमजोर हुँदै गएको थियो। आफ्नो अनुकुल निर्णय नभएमा अड्डा अदालत पुग्ने पद्धतिको विकाससँगै कमजोर बनेको महासंघका लागि अहिलेको विशेष साधारणसभा अझ ठूलो संकटको भूमरी थियो। यो संकटबाट पार लगाउन राणाले गरेको मेहनत महत्वपूर्ण देखिन्छ।

महासंघको राजनीतिको केन्द्रमा रहने र सधै आफ्नो अनुकुल निर्णय गराउनसक्ने चण्डीले विधान संशोधन समिति बनाएर आफैलाई संयोजक तोक्न दबाब दिएका थिए। यो दबाबलाई उनले चिर्न सकिनन्। ढकाल विधान संशोधन समितिको संयोजक भएपछि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान संशोधन गरेर अध्यक्षमा निर्वाचन हुनुपर्ने एजेण्डा वाहिर ल्याए।

यो एजेण्डाप्रति राणा विपक्षमा देखिइन्। वरिष्ठ उपाध्यक्ष शेखरलाई रोक्ने गरि विधान संशोधन गर्न लागिएको भन्दै यसको विपक्षमा उनी थिईन्। विधान संशोधन भएपनि शेखरपछि मात्रै लागु हुनुपर्ने अडान राणाको थियो। अध्यक्षका हैसियतले सार्वजनिक रुपमा भने उनले मुख खोल्न सकेकी थिइनन्। उनले शेखर र पशुपतिलाई मौखिक रुपमा जानकारी भने गराएकी थिईन्।

स्रोतका अनुसार विधान संशोधनका लागि डाकिने विशेष साधारणसभा सकेसम्म रोक्ने र रोक्न नसके शेखरपछि मात्रै अध्यक्षमा निर्वाचन गर्ने रणनीतिक योजनामा राणा सहमत दिइन्।

त्यही रणनीतिक योजना अनुसार विशेष साधारणसभा तोक्ने दिनको कार्यकारिणी समितिको बैठकमा राणाले घुमाउरो पारामा शेखरकै साथ दिएकी थिईन्। त्यो बैठकमा विशेष साधारणसभा तोक्दा विधि सम्मत हुनुपर्ने माग मुरारकाले राखेपछि राणाले त्यसमा सहमति जनाएकी थिईन्।

बैठकमा आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै ढकाल भने रिसाएर वाहिरिएका थिए। त्यो बैठकपछि ढकालले आफ्नो निर्णयमा साथ नदिएको भन्दै राणालाई हपारेका थिए। यो बैठकको केही दिनपछि कात्तिक २९ गते विशेष साधारणसभा तोक्ने निर्णय भएको थियो।

विशेष साधारणसभा तोक्ने निर्णय भएपछि पनि राणाले शेखर र पशुपति मुरारकालाई आफ्नो अडान परिवर्तन नभएको बताएकी थिईन्। स्रोतका अनुसार ढकालले विशेष साधारणसभाको स्थान काठमाडौं वाहिर तोक्न दबाब दिएका थिए तर राणाले काठमाडौंभित्रै गर्ने अडान राखेकी थिईन्।

ढकाल काठमाडौं वाहिर साधारणसभा गरेर आफ्नो अनुकुल निर्णय गराउन चाहन्थे। तर राणा भने काठमाडौंमा साधारणसभा गरेर शेखरलाई सहयोग गर्ने पक्षमा थिईन्। साधारणसभा भएमा विधान संशोधनको मोडालिटीका बारेमा पनि राणाले शेखर समूहसँग छलफल गरेकी थिईन्।

ढकाल हात उठाएर हुलमुलमा विधान संशोधनको पक्षमा थिए। तर राणाले शेखरको आग्रह अनुसार मतदान गरेर संशोधन गर्ने रणनीतिमा थिईन्। ‘महासंघलाई टुक्रिनबाट जोगाउन राणाले आन्तरिक रुपमा धेरै ठूलो भूमिका खेलिन्। उनले दुबै पक्षलाई समेटेर महासंघलाई ठूलो संकटबाट जोगाईन्’ महासंघकै एक पदाधिकारीले भने।

अब के हुन्छ?
विशेष साधारणसभा स्थगित भएपछि महासंघको ठूलो खड्को टरेको छ। तर भावी नेतृत्वका लागि फेरि रस्साकस्सी भने हुने देखिन्छ।

महासंघको विशेष साधारणसभा टरेपनि विधान संशोधन नियमित साधारणसभा पेश हुँदैछ। त्यो साधारणसभामा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान संशोधन हुने/नहुने टुङ्गो छैन। यदि विधान संशोधन नभएमा महासंघको राजनीतिमा निर्विरोध बन्दै आएका चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका बलिया प्रतिस्पर्धी हुने छन्।

महासंघको अहिलेको राजनीतिक सेटलमेन्टमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकासँगै चन्द्र ढकालले समेत महत्वपूर्ण भूमिका खेलेकोले उनी बलिया प्रतिस्पर्धी हुन्। शेखरसँगै भावी नेतृत्वका लागि समेत ‘डिल’ भइसकेको स्रोत बताउँछ। ढकालसँग किशोर प्रधान र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा आउन सक्छन्।

विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान अझै एक/दुई कार्यकाल कार्यान्वयनमा नल्याउन आग्रह आएको बताउँछन्।

‘साथीहरुले एकदुई कार्यकाल अहिलेकै विधान अनुसार निर्वाचन गरौं भन्नुभएको छ। त्यसका बारेमा पनि छलफल हुनसक्छ’ ढकालले भने।


ताजा खबर