हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ ।

युट्युब च्यानल गज्जबको टिभीमार्फत रिलिज गरिएको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ । सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलिबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढंगबाट देखाउन खोजिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए । गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने उनको विश्वास छ । उनले गीत हेरेर आफू रोएको पनि बताए ।

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले आफूले पनि स्कूले जीवनमा यौन दुर्व्यवहारको सामना गर्नुपरेको बताइन् । ‘सार्वजनिक ठाउँमा सानोतिनो यौन दुर्व्यवहार त भोगेको छु । त्यसमाथि हाम्रो जस्तो साउथ एसियन राष्ट्रमा महिलाहरुले सार्वजनिक ठाउँमा यौन दुर्व्यवहार सामना गर्नु नपरेको चाहिँ कमै होला,’ उनले भनिन् ।

गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् । सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथा भिडियोमा समावेश छ । त्यस्तै, भिडियोमा भूपेन्द्र अधिकारीको भिजुयल मास्टरिङ, श्री कृष्ण श्रेष्ठको भि.एफ.एक्स र रेनिस फागोको रङ्ग संयोजन छ ।

भिडियो :


ताजा खबर