थिएटरमा ‘कठपुतली’ लाई दर्शकको बलियो साथ

पुष १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । यसै शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको चलचित्रले बलियो माउथ पब्लिसिटीका कारण दुई ठूला विदेशी चलचित्र ‘पुष्पा’ को हिन्दी डब र ‘स्पाइडर म्यान : नो वे होम’ को चुनौतीका बीच पनि मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले तेस्रो हप्तामा चलचित्रलाई ९/१० शोज उपलब्ध गराएको छ । राजधानी र मोफसलका अन्य मल्टीप्लेक्सहरुमा पनि तेस्रो हप्तामा चलचित्रको शो सुखद् छ । निर्माता पृथ्वी राना मगरले तेस्रो हप्तामा देशभरका मल्टीप्लेक्सहरुमा चलचित्रको अकुपेन्सी ५० प्रतिशत रहेको बताए । उनी चलचित्रको पहिलो र दोस्रो हप्ताको व्यापारबाट सन्तुष्ट छन् ।

निर्माता रानाले भने- ‘चलचित्र राम्रो बनेको छ भने दर्शक हलसम्म आउनु हुन्छ भन्ने कुरा ‘कठपुतली’ ले प्रमाणित गर्‍यो । दुई ठूला विदेशी चलचित्रका बावजूद पनि तेस्रो हप्तामा फिल्म हेर्न हलमा आउने दर्शकको संख्या घटेको छैन । चलचित्र हेर्ने जति सबैले प्रशंसा गर्नुभएको छ । व्यापार पनि उत्साहजनक छ । निर्माताको रुपमा मेरो लागि योभन्दा ठूलो खुसी र सफलता अरु हुनै सक्दैन ।’

भिमसेन लामाको निर्देशन गरेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । जोएल फ्रूमले खिचेको फिल्मको सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् । चलचित्र हेर्ने हरेकले कथावस्तु, कलाकारको अभिनय र टेक्निकल पक्षको प्रशंसा गरेका छन् ।


ताजा खबर