अस्पताल र सेवाग्राही सम्बन्ध : किन हुन्छ पटक पटक द्वन्द ?

कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् ।

विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् ।

सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ ।

कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६ गते त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा एक ५४ वर्षीय पुरुषको निधन भएको विषयलाई लिएर स्थिति तनावपूर्ण बन्यो । चाबहिलस्थित ओम अस्पतालमा समेत बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालमाथि आक्रमण भएका घटना पटकपटक बाहिर आइरहेका छन् ।

स्वास्थ्य संस्था तथा चिकित्सकमाथि लगातार आक्रमण भएपछि स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाको विषय उठाउन थालिएको छ । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ०६६ र नियमावली ०६९ मा तत्काल संशोधन माग गरेको छ ।

चिकित्सकहरूले ऐन र नियमावली तत्काल परिमार्जन गरी बिनाधरौटी हिरासतमा लिई कारागार चलानको प्रावधान राख्न माग गरेका छन् । तत्काल यो प्रावधानको व्यवस्था नगरे स्वास्थ्य सेवामा समेत समस्या आउने चेतावनी उनीहरूले दिएका छन् ।
राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले स्वास्थ्य क्षेत्र सेवामुखी हुनुपर्नेमा नाफामुखी भएकै कारण चिकित्सक र अस्पतालमाथि आक्रमणका घटना भइरहेको बताउनुभयो । उहाँले बिरामीलाई अनावश्यक ‘ल्याब टेस्ट’ गर्न लगाउने, अनावश्यक औषधिहरू प्रेस्क्रिप्सन गरिदिने, दायाँ खुट्टाको शल्यक्रिया गर्दा बायाँ खुट्टाको गरिदिने, पेटमै कैँची राख्नेजस्ता प्रवृत्तिले बिरामी पक्षले चिकित्सकमाथि विश्वास गर्न छाडेको आरोप लगाउनुभयो ।

नेपाल चिकित्सक सङ्घका महासचिव डा. लोचन कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आपराधिक मानसिकता बढ्दै गएको बताउनुभयो । उहाँले आपराधिक मानसिकता बोकेका व्यक्तिहरूलाई राज्यले संरक्षण गरिरहेको भन्दै त्यस्ता अपराधीलाई छानबिन गरी कारबाही गरिनुपर्ने बताउनुभयो ।

उहाँले असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ हुने बताउनुभयो । डा. कार्कीले सरकारले बेवास्ता गर्दा चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढिरहेको बताउनुभयो । उहाँले गत असोज २०७४ मा तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच बिनाधरौटी हिरासतमा लिई कारागार चलानको प्रावधान राख्ने विषयमा सहमति भए पनि उक्त सहमति कार्यान्वयन नहुँदा चिकित्सकमाथि आक्रमणका घटना बढिरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्यजस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सकमाथि अस्वाभाविक रूपमा आक्रमण गर्ने, धम्की दिने तथा हातपातमै उत्रने व्यवहारले नेपालमा चिकित्सकहरूको भविष्य नरहेको दाबी गर्नुभयो । यस्तै अवस्था रहे चिकित्सकले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न डराउने र बिरामीलाई रिफर गर्दागर्दै बाटोमै मृत्यु हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।
महासचिव डा. कार्कीले स्वास्थ्य संस्थामा प्रदर्शन, स्वास्थ्य संस्था तथा चिकित्सकमाथि भएका आक्रमणले समग्र स्वास्थ्य संस्थाको वातावरणलाई खलल पु¥याएको जानकारी दिँदै सरकारले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नसकेको बताउनुभयो । नेपाली चिकित्सकहरूको मनोबल दिनहुँ गिरेको भन्दै उहाँले यही अवस्था रहे चिकित्सकहरू विदेश पलायन हुने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अनुसार विगतमा चितवन मेडिकल कलेज, ब्लु क्रस अस्पताल, हेटौँडा, सिन्धुली, लहान, शिवराज अस्पताल कपिलवस्तु, डडेल्धुरा, ओम अस्पताल, समता अस्पताल, जलेश्वर अस्पताल, विराट मेडिकल कलेज विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताल लगायतका अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकमाथि आक्रमण भएका छन् । आक्रमणबाट केही चिकित्सक घाइते भएका छन् भने स्वास्थ्य संस्थामा क्षतिसमेत पुगेको छ ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य संस्थाले कुनै गल्ती गरेको छ भने स्वास्थ्य मन्त्रालयले छानबिन गर्ने बताउनुभयो । उहाँले त्यस्ता घटनामा कानुनी रूपमा अगाडि बढ्नुपर्ने भन्दै अस्पताल तथा चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय रहेको बताउनुभयो । आक्रमण गरी तोडफोड गर्नेजस्ता कार्यले अस्पताल सञ्चालनमा बाधा पुग्ने भन्दै उहाँले त्यस्ता क्रियाकलाप समाप्त पार्नुपर्ने बताउनुभयो । अस्पतालको गल्ती भएको लाग्छ भने स्वास्थ्य मन्त्रालयमा निवेदन दिन आग्रह गर्दै उहाँले त्यस्ता घटना गराउनेविरुद्ध सरकारले कारबाही गर्ने दाबी गर्नुभयो ।
मन्त्रालयले ती घटनालाई कानुनी प्रक्रियाद्वारा समाधान गर्ने भन्दै उहाँले अस्पताल भनेको मान्छे मर्ने ठाउँ भएकाले उपचारका क्रममा मान्छे मर्दा अस्पतालमाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो ।

हामी सबै जना अस्पतालमै मर्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले मानिसको मृत्यु के कारणले भएको हो, त्यो कुरा छानबिन गर्नुपर्ने बताउनुभयो । औषधि उपचार गर्ने क्रममा मानिस मर्न सक्ने भन्दै श्रेष्ठले पोलियो तथा भिटामिन ‘ए’ खुवाउँदासमेत बालबालिकाहरू घाँटीमा ¥याल अड्केर मर्ने गरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय अस्पताल सबै राम्रा छन् भन्ने पक्षमा छैन भन्दै श्रेष्ठले थप्नुभयो, “सही र गलत छुट्ट्याएर कारबाही गर्ने निकाय हुँदाहँुदै अस्पताल र चिकित्सकमाथि आक्रमण गर्नु गलत हो । ” नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले २०६३ सालपछि चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढ्दै गएको बताउनुभयो । प्रत्येक मृत्यु चिकित्सकका कारण भएको हो भन्ने मानसिकता गैरजिम्मेवार र अबुझ मानसिकता भएको बताउनुभयो । डा. केसीले चिकित्सकहरू क्षमतावान् र योग्य हुँदाहुँदै उनीहरूले काम गर्ने थलो र स्वास्थ्य संस्थामा उपचार गर्ने उपयुक्त वातावरण नभएको बताउनुभयो ।
“एउटा चिकित्सकले मरिसकेको मान्छेलाई १०÷१५ दिनसम्म भेन्टिलेटरमा राख्छ भन्नु मूर्खताबाहेक केही होइन”, डा. केसीले थप्नुभयो, “बिरामीलाई ९९ प्रतिशत ठीक गरेर घर पठाउन सकिन्छ तर एक प्रतिशतमा केही न केही जटिल अवस्था आउँछ । ” भौतिक सुविधा, औषधि, रियाक्सन, बिरामीको अवस्थालगायतका विषयवस्तुले बिरामीको उपचार निर्भर गर्ने भन्दै उहाँले बिरामी अस्पताल लैजानेबित्तिकै बाँच्नैपर्छ भन्ने मानसिकता ठीक नभएको बताउनुभयो ।

सरकारी चिकित्सक सङ्घ नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले देशमा दण्डहीनता बढेकाले चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना वृद्धि भएको बताउनुभयो । उहाँले प्रहरीकै अगाडि चिकित्सक कुटिँदासमेत आक्रमणकारीलाई कुनै कारबाही नगरेको भन्दै उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण भए तत्काल फौजदारी कानुनअनुसार पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

डा. पाण्डेले चिकित्सक तथा स्वास्थ्य संस्थाको गल्ती भएको छ भने पनि त्यसको तत्काल उजुरी दिएर छानबिन गरी कारबाही गर्नसक्ने निकाय गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

रासस

 


ताजा खबर