सार्वजनिक ठाउँमा भेला, मेला, महोत्सव नगर्न अनुराेध

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोना सङ्क्रमणको बढ्दो क्रमलाई नियन्त्रण गर्न सार्वजनिक स्थलमा निस्कँदा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना लगायत विभिन्न १८ आदेश जारी गरेको छ ।  

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले आज कोरोना सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी आदेश जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न तथा गराउन आग्रह गरेको हो । 

आदेशमा आज राति १२ बजेबाट लागु हुने गरी २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको भेला, महोत्सव लगायतका सामाजिक कार्यहरू नगर्न नगराउन निर्देशन दिएको छ । 

यसैगरी जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गरी नियमित परिक्षण गर्न पनि निर्देशन दिएको छ । 

प्रशासन कार्यालयहरूले स्थानीय तहहरूसँग समन्वय गरी सबै विद्यालयका १२ देखि १७ उमेर समूहका विद्यार्थीलाई अनिवार्य रुपमा एक हप्ताभित्र कोरोना विरुद्धको खोप लगाइसक्ने गरी कार्यातालिका बनाई कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । 

जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड मोबाइलमा फोटो भएपनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यसैगरी सार्वजनिक सवारी साधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिँदै सरकारको आदेश पालना भए नभएको नियमित तथा आकस्मिक अनुगमन गरिने पनि जनाइएको छ ।  


ताजा खबर