सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको तमू ल्होछार

विश्वनाथ खरेल

नेपालको सन्दर्भमा ल्होसार (तमू ल्होछार) मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होसार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले गर्दा ल्हो फेर्ने मितिमा पनि एकरूपता देखिँदैन । हाम्रो मुलुक विश्वमा संस्कृतिको अथाह भण्डार रहेको छ । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा सम्वत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँ अर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामा भोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय पर्व हो यो ।

नेपालका पहाडी–हिमाली धेरै समुदायको आ–आफ्नो जातीय परिचयको पर्व भए पनि केही वर्ष अगाडिदेखि भने नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा सम्मान दिएको छ । ल्होसार परम्परा कहिलेदेखि सुरु भयो भन्ने बारेमा फरकफरक भनाइहरू पाइन्छन् । यो परम्परा संसारकै अनेक परम्परामध्ये सबैभन्दा पुरानो या जेठो परम्परा मानिन्छ । यो चन्द्र पात्रोमा आधारित परम्परा हो । चीनमा चन्द्र पात्रो परम्परा २६३७ ईस्वीपूर्व अर्थात् आजभन्दा ४६५६ वर्ष पहिलेदेखि चलेको भनिन्छ, जुनबेला चीनको सम्राट ह्वान चीले आफ्नो शासनकालको ६१औँ वर्षमा ‘प्रथम चक्र’ सुरुवात गरेको चिनियाँ इतिहासमा पढ्न पाइन्छ । मूलतः ल्होसार परम्परा चन्द्र पात्रोमा आधारित छ अथवा चन्द्रमाको गतिको आधारमा समय गणना गरी यो पात्रो बनाइएको हुन्छ ।

विक्रम संवत्मा ३६५ दिनलाई एक वर्ष मानिन्छ भने ल्होसार परम्परामा आधारित पात्रोमा ३५४ दिनलाई एक वर्ष मानिन्छ । यसलाई चन्द्र वर्ष (लुनार इयर) भनिन्छ । यस हिसाबले सौर्य वर्षको तुलनामा चन्द्र वर्षमा एक वर्षमा ११ दिन कम हुन्छ । सौर्यपात्रोको तुलनामा चन्द्र पात्रोलाई पुरानो मानिन्छ । हाम्रो देशभित्र विभिन्न आदिवासी जनजाति समुदायले यो पर्व मनाउँदै आएका छन् । देशमा ल्होसार मनाउने सबैभन्दा ठूलो समुदाय तामाङ हो । त्यसपछि गुरुङ, शेर्पा, सिङसा, ल्होमी, ह्योल्मो, दुरा, लेप्चा, थकाली समुदायले पनि ल्होसारलाई पौराणिक सांस्कृतिक पर्वका रूपमा धूमधामले मनाउने गर्छन् । यसबाट ल्होसार परम्परा विभिन्न हिमाली समुदायबीच अत्यन्तै लोकप्रिय पर्व बनेको बुझ्न सकिन्छ । एकभन्दा बढी समुदायले ल्होसार मनाउने गरे पनि उनीहरूले एकै समय र दिनमा ल्होसार मनाउने गरेको पाइँदैन ।

संसारमै सम्पदा–संस्कृतिमा नेपालको अग्रणी स्थान रहेको सन्देह रहन्न । मूर्त तथा अमूर्त संस्कृतिको अथाह भण्डार नै हो नेपाल । राष्ट्रमा वर्षभरिका धेरै दिन कुनै न कुनै जातजातिहरूको सांस्कृतिक मान्यता वा पर्व–उत्सवले रङ्गिएका र खुसी–उमङ्गले भरिएका देखिन्छन् । नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न अभिप्रेरणा दिइरहने पनि हाम्रा चाडपर्व नै हुन् । विश्व मानचित्रमा नेपाल चाडपर्वको घर नै भनी सम्बोधन हुनु हाम्रा लागि गर्वको विषय पनि हो । यसमा विभिन्न १२ वटा पशुपन्छीको नाममा ल्हो या वर्ष गणना गरिने प्रचलन हुन्छ ।

हरेक वर्ष एउटा जीवको नाममा ल्होको सम्बोधन गर्ने गरिन्छ । जीवा (मुसा) लाई पहिलो वर्ष मानिन्छ भने अन्तिममा रहेको फाग (बँदेल) लाई १२औँ वर्ष मानिन्छ । ती १२ जीवजन्तुमा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), ह्योअी (खरायो), डुक (गरुड), डुल (सर्प), ल्हुक (भेडा), ता (घोडा), टे (बाँदर), ज्या (चरा), खी (कुकुर) र फाग (बँदेल) हुन् । चन्द्र पात्रोअनुसार हरेक वर्ष एउटा जीवजन्तुको नाममा ल्हो या वर्षको नाम रहन्छ । १२ वर्षको चक्र पूरा भएपछि फेरि सुरुकै ल्हो (वर्ष) दोहोरिन्छ । त्यस्ता १२ ल्होलाई एउटा चक्रमा राखिएको हुन्छ । त्यसलाई ल्होखोर (वर्ष चक्र) भनिन्छ । ल्होसार कुनै एउटा देशमा मात्रै मनाइने पर्व होइन ।

नेपालका हिमाली र पहाडी भेगमा बसोवास गर्नेले मात्रै नभएर एसियाका झण्डै दुई अर्ब जनताको साझा पर्व बनिसकेको छ । यो मङ्गोल मूलका विभिन्न देशमा मनाइने गरिन्छ । मङ्गोलिया, चीन, लाओस, थाइल्यान्ड, सिङ्गापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतको उत्तरी तथा पूर्वी राज्यहरू (दार्जिलिङ, सिक्किम, अरुणाचल, हिमाञ्चल, लद्दाखलगायतका ठाउँमा व्यापक रूपमा मनाइने गरिन्छ । चिनियाँहरूले यसलाई वसन्त उत्सवका रूपमा मनाउँछन् । एसियाका अन्य मङ्गोल मूलका देशमा पनि धूमधामले ल्होसार मनाइन्छ । अतः ल्होसार संसारकै समस्त मङ्गोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ ।

समग्रमा भन्नुपर्दा ल्होसार (लोसार) को शाब्दिक अर्थ नयाँ वर्ष या नयाँ साल भए पनि यो सांस्कृतिक पर्व पनि हो । पौराणिक कालमा मानव जातिले जीवन निर्वाह गर्ने क्रममा स्थापित गरेको परम्परा हो । यो परम्परालाई थप व्यवस्थित र परिष्कृत गर्ने क्रममा धार्मिक पद्धतिसँग यसको सम्बन्ध जोडिन पुगेको देखिन्छ । अहिले बुद्धधर्मसँग यसको अन्योन्याश्रित सम्बन्ध देखिए पनि बुद्ध धर्मको विकासभन्दा अगाडिदेखि नै ल्होसार संस्कृति अस्तित्वमा रहेको दाबी गरिन्छ ।

चिनियाँ सभ्यता निर्माणको क्रममा (इपू २१००– १६००) स्हीया राजवंशको शासन कालमै सुरु भएको विश्वास गरिएको यो चन्द्र मास पात्रोमा आधारित नयाँ वर्षको परम्परा संसारकै सांस्कृतिक परम्परामध्ये जेठो परम्परा मानिन्छ । यो धार्मिक आस्थासँग गाँसेर आएको ज्योतिष मतमा आधारित धर्म मिसिएको सांस्कृतिक चाड हो । ल्होसार परम्परा मान्ने समुदायमा ल्होसारकै आधारमा मान्छेको वर्ष या उमेर गणना गर्ने गरिन्छ । पौराणिक कालमा अहिलेको जस्तो समय सूचक विभिन्न वस्तुको विकास भएको थिएन । अहिले गणितीय संवत्को आधारमा मिति तोकिन्छ ।

जस्तो वि.सं. २०७८, सन् २०२१, नेपाल संवत् ११४२ आदि । यसर्थ ल्होसार मुलुकमा विभिन्न जाति र समुदायले मनाउँदै आएको पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महìव बोकेको छ । तर ल्होसार मान्ने जाति र समुदायमा भने एकरूपता नभई फरक–फरक समय र नामले ल्होसार पर्व मनाउँदै आएका छन् । यसको साथसाथै सांस्कृतिक रूपमा विभिन्न शुभअशुभ कार्यहरू जस्तै विवाह, छेवार, पुटपुटे, अर्घौ आदि जन्मदेखि मृत्यसम्मका सबै संस्कार र कार्यहरू गर्नका लागि यसै ल्हो (वर्ष) लाई नै आधार मानेर गरिएको हुन्छ । त्यसैले ल्होसार पर्व गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व हो । त्यसैले गुरुङ समुदायमा तमु ल्होसार पर्व महìवपूर्ण रहेको छ ।

यसरी हिजोआज ल्होसार पर्व मौलिक रूप हराउँदै गएको छ । पश्चिमा संस्कृतिको प्रभावले भविष्यमा यो संस्कृति नै धरापमा पर्ने हो कि भन्ने आम चिन्ता छ । त्यसैले गुरुङ समदायको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक रूपले प्रतिनिधित्व गर्ने यस पर्वलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ ।


ताजा खबर