भलिबल टोलीको त्रिभुवन विमानस्थलमा भब्य स्वागत

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल नेपाली टोलीलाई भब्य स्वागत गरिएको छ ।

ढाकाबाट बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमै पुगेर युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भलिबल संघका पदाधिकारी, खेलाडी लगायतले स्वागत गर्नुभएको थियो । नेपाल भलिबल संघले खेलाडीलाई त्रिपुरेश्वरस्थित कभर्ड हलमा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान पनि गरेको थियो ।

स्वदेश फर्किएपछि टोकीकी कप्तान अरुणा शाहीले मौका पाए नेपालले धेरै पदक जित्न सक्ने बताउनुभयो । ‘उपाधिले नयाँ खेलाडीलाई खेलमा लाग्न प्रोत्साहन गर्ने ठानेकी छु । नेपालमा महिला भलिबलमा खेलाडीको कमी छ । गाउँ गाउँबाट नयाँ खेलाडी ल्याउन पहल गर्न आवश्यक छ,’ शाहीले भन्नुभयो ।

टोलीका प्रशिक्षक जगदिश भट्टले उपाधिसँगै सरकारले घोषणा गरेको पुरस्कारले थप जिम्मेवारी थपिएको बताउनुभयो । ‘खेलाडी र टोलीले मिहेनत गरका छौँ । पुरस्कार घोषणाले राम्रो हौसला मिलेको छ । अब भलिबलको एकेडेमी र कभर्डहलहरु बनाईनुपर्छ । ग्रासरुट स्तरबाट खेलाडी उत्पादन भए पदक जित्न गाह्रो छैन,’ भट्टले भन्नुभयो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सरकारले भलिबल खेलमा लगानी गरे अझै ठूला उपाधि जित्ने बताउनुभयो । ‘सरकारले बार्षिक भलिबल खेललाई तीन करोड रुपियाँ दिनुपर्छ । भलिबलका लागि छुट्टै कभर्डहल बनाईदिनु पर्छ,’ शर्माले भन्नुभयो ।

युवा तथा खेलकुद मन्त्री गहतराजले सरकारले दशरथ रंगशाला भित्रै भलिबललाई जग्गा उपलब्ध गराउने र छुट्टै कभर्डहल बनाउन आफुले पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सरकारले बुधबार मात्र च्याम्पियन टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली महिला टोलीले यसअघि सन् २०१९ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा लिग चरणदेखि एक सेट पनि नगुमाई उपाधि जितेको थियो ।


ताजा खबर