राष्ट्र बैङ्कद्वारा ११ अर्ब ८४ करोडको पुनर्कर्जा स्वीकृत

चालु आर्थिक वर्षको मङ्सिर सम्ममा नेपाल राष्ट्र बैङ्कले ११ अर्ब ८४ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत गरेको छ । 

नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको मङ्सिर मसान्तसम्मको तथ्याङ्क अनुसार ९१ कम्पनीहरूले २९ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड ७ लाख रुपैयाँ पुनर्कर्जा प्राप्त गरेका छन् ।

पुनर्कर्जामध्ये विशेष पुनर्कर्जा १० वटा बैङ्क तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ १५ वटा कम्पनीहरूले पाएका छन् भने साधारण पुनर्कर्जा भने २७ बैङ्क तथा वित्तीय संस्थाहरूबाट ७६ वटा कम्पनीहरूले ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको पुनर्कर्जा पाएका छन् ।

प्रदेशगत आधारमा पुनर्कर्जा लाई विभाजन गर्दा सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशबाट माग भएको देखिन्छ । 

कुल पुनर्कर्जा मध्ये बागमती प्रदेशको भाग ४७.६६ प्रतिशत रहेको छ । बागमती प्रदेशका कम्पनीहरूको ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ । 

सबैभन्दा कम पुनर्कर्जा भने सुदूर पश्चिम प्रदेशको ०.८३ प्रतिशत मात्रै स्वीकृत भएको छ । दोस्रो ठूलो पुनर्कर्जा भने लुम्बिनी प्रदेशका कम्पनीहरूले पाएका छन् । 

कुल कर्जामा लुम्बिनी प्रदेशको हिस्सा २२.६६ प्रतिशत छ । लुम्बिनी प्रदेशका कम्पनीहरूले २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ बराबरको पुनर्कर्जा उपयोग गरेका छन् । –रासस


ताजा खबर