जीवन खतरामा पार्नुभन्दा घुमघाम रद्द गर्नुहोस् : डब्लूएचओ

 विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको बढ्दो संक्रमणका कारण घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ । विश्वभर तीव्र रूपमा ओमिक्रोनको संक्रमण बढेको भन्दै डब्लूएचओले जनस्वास्थ्यको रक्षा गर्न अनुरोध गरेको हो ।

‘ज्यान नै गुमाउनुभन्दा कार्यक्रम स्थगित गर्नु वेश हुन्छ,’ कठोर निर्णय लिनैपर्ने बेला आएको भन्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने । उनी भन्छन्, ‘अब कठोर निर्णय लिनुपर्ने छ । केही समारोह वा कार्यक्रम रद्द गर्नुहोस् वा सार्नुहोस् । अब डेल्टाभन्दा भेरिएन्टभन्दा ओमिक्रोन तीव्र रूपमा फैलिइरहेको भन्ने प्रमाण भेटिइसकेको छ ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा ओमिक्रोन भेरिएन्टको संक्रमण बढिरहेको बताइरहेका बेला महानिर्देशक टेड्रोसको भनाइ आएको हो ।

सबै जना महामारीबाट दिक्क भए पनि धीरता राख्नुको विकल्प नभएको उनको भनाइ छ । पछि पछुताउनुभन्दा अहिले नै उत्सव र घुमघामका कार्यक्रम स्थगित गर्नु उत्तम हुने उनले बताए । त्यस्तै महामारी अन्त्यका लागि खोपको समान वितरण अपरिहार्य रहेको पनि उनको भनाइ छ । सन् २०२२ को मध्यसम्ममा सबै देशका ७० प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसक्नुपर्ने उनले बताए ।

युरोपमा जर्मनी, फ्रान्सलगायतका मुलुकले कोभिड प्रतिबन्धलाई कडा बनाइरहेका छन् । इसाईहरूको मुख्य पर्व क्रिसमस नजिकै आइरहे पनि युरोपका विभिन्न मुलुकले कडा प्रतिबन्ध लागू गर्ने भएका छन् । नेदरल्यान्ड्सले त कडा लकडाउन गरिसकेको छ ।


ताजा खबर