एमसिसीबारे छलफल गर्न तीन सदस्यीय कार्यदल गठन

सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्‍मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि हिजै संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा संसद्‍मा जारी गतिरोध अन्त्य गर्ने, संसद्मा विचाराधिन विषयलाई अगाडि बढाउनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।-रासस


ताजा खबर