शिक्षालाई जीवनमा सुधारमा प्रयोग गर्न शीक्षामन्त्रीको सुझाव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भन्नुभयो,“कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की ? वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ ।” उहाँले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न सुझाव दिनुभयो ।

उहाँले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याउनुभयो । सिकेका सीपलाई राष्ट्र विकासको एक सूत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रष्ट्याउनुभयो ।

उहाँले देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभयो । अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठूलो धनराशि रोक्नुपर्नेमा जोड दिनुभयो । –रासस


ताजा खबर