भिजिट भिसामा वैदेशिक रोजगारमा नजान आग्रह 

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गर्नुभएको छ  । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसा: समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गर्नुभएको हो  । 

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ । भिजिट भिसामा विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । जसले गर्दा यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहनुभएका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गर्नुभएको हो  । 

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन  देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको र यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेको बताउनुभयो । उहाँले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा समेत आउनुका साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले कामदारको मात्रै नभएर सरकारको कमीकमजोरीले पनि भिजिट भिसामा जाने श्रमिक सङ्ख्या बढ्दै गएको बताउनुभयो ।  “नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ । कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,” उहाँले भन्नुभयो, “कामदारहरूले छिटो र सहज तरिका खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।”

श्रम विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताउनुभयो । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धित सरोकारवालाहरू जानकार भए पनि कडाइ गर्न नसकिएको उहाँको भनाइ छ । “यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमानदार हुनपर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न सम्बन्धित निकायले खासै चासो नदेखाएको भन्नुहुँदै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो  । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीका बारे जानकार नभएकाहरूभन्दा यस क्षेत्रका बारेमा जानकारी राख्ने नेपालीहरू नै भिजिट भिसामा जाने गरेको बताउनुभयो । उहाँले भिजिट भिसामा जाँदा व्यवसायीहरू पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा सरकारले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित हुने जिकिर गर्नुभयो । “श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अङ्गभङ्ग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,” उहाँले भन्नुभयो । भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्ने उहाँको भनाई छ । 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा नजान आग्रह गर्नुभयो । “अहिले नेपालीहरूको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरूको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरूले दुःख पाउनुभएको छ”, उहाँले भन्नुभयो । सरकारले म्यानपावर कम्पनीहरूका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताउनुभयो । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाइ गर्नुपर्ने उहाँको भनाई छ । 

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताउनुभयो । वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो १८ वर्षको अनुभव भए पनि आफैँले बुझ्न नसकेको उहाँले बताउनुभयो । सबै ट्राभल तथा म्यानपावर व्यवसायीहरूलाई सरकारले कडाइ गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्दत पुग्ने अध्यक्ष तामाङको भनाई छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा राम्रो काम पाउन पनि सकिन्छ र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि उत्तिकै रहने बताउनुभयो । 

“सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस् । यसरी जाँदा समस्यामा परिन्छ । भिजिट भिसामा जाँदा धेरै मानिसहरू बेचबिखनमा परेका छन्”  उहाँले भन्नुभयो । भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाइ गर्नुपर्ने उहाँको भनाई छ ।  

उहाँले वैदेशिक रोजगारीमा जाँदा अप्ठ्यारोमा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको बताउनुभयो । भिजिट भिसाको दुरुपयोगका कारण मानिसहरू अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उहाँले आग्रह गर्नुभयो । जनचेतनाको अभावका कारण पनि युवाहरूले भिजिट भिसाको दुरुपयोग गरिरहेको उहाँले जिकिर गर्नुभयो । “वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ । कुन उद्देश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सहज हुन्छ,” उहाँले भन्नुभयो  । –रासस


ताजा खबर