नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको शीर्ष स्थानमा

 बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ ।

लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरिन् ।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।  कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।  रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् ।

मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अंक मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलंका पनि बाहिरिसकेको छ ।

नेपालले अब लिगको अन्तिम खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बंगलादेशसँग बराबरी खेल्दा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । भारत ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर तेस्रो स्थानमा छ । आइतबारै बंगलादेशले श्रीलंकासँग खेल्नेछ । –रासस


ताजा खबर