कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

महामन्त्रीका प्रतिस्पर्धीहरु डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाउनुभयो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सानेपास्थित पार्टी मुख्यालयमा भएको मतगणनाको अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ ।

थापा डा. शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लड्नुभएको थियो ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।


ताजा खबर