शेयर कारोवार मापक नेप्सेमा उच्च अङ्कको गिरावट

कारोबार हुने साताको अन्तिम दिन धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिवार पनि उच्च अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ ।

यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अङ्कले ओरालो लागेर ४५३.५३ मा पुगेको छ ।    

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरू सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अङ्कले मात्रै उकालो लाग्यो ।    

यस्तै बैङ्किङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैङ्क १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अङ्कले ओरालो लागे ।    

कारोबारका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो ।

नेपाल बङ्गलादेश बैङ्क रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी रु छ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर रु छ करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।    
    
नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैङ्कको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैङ्क ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार प्रतिशतले कमाए ।    

त्यस्तै, ग्रिन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयर धनीले ६.११ प्रतिशतले गुमाए ।

बिहीबारको कारोबार पछि बजार पुँजीकरण रु ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ । –रासस 


ताजा खबर