काँकडभिट्टा नाकाबाट पाँच करोडको कोदो आयात

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिनुभयो ।

विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो । उहाँले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा”, उहाँले भन्नुभयो, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुप¥यो ।”

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताउनुभयो । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाउनुभयो । उहाँले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताउनुभयो ।  –रासस


ताजा खबर